श्री ५ महेन्द्रद्वारा २०१७ साल वैशाख १७ गते अमेरिकाको संयुक्त सदनमा गरिएको सम्बोधन

श्री ५ महेन्द्रद्वारा २०१७ साल वैशाख १७ गते अमेरिकाको संयुक्त सदनमा गरिएको सम्बोधन

ADMN

9/24/2026

अमेरिकी संसद्को संयुक्त सभामा श्री ५ महाराजाधिराज महेन्द्रबाट बक्सेको सम्बोधन-भाषण

श्री अध्यक्ष, श्री सभामुख तथा अमेरिकी संसद्का सदस्यहरू,
संसद्का सदस्यहरूलाई आज यहाँ संवोधन गर्न पाउनु हाम्रो निम्ति खुशी र कदरको कुरा हो। जुन सहृदयता र सद्भावनाले आज यहाँ हाम्रो स्वागत सत्कार गर्नुभयो त्यसबाट हामी प्रभावित भएका छौं। अमेरिकाको व्यवस्थापिकाको संयुक्त सभामा संवोधन गर्न हामीलाई निमन्त्रणा गरेको कुरा नेपाली जनताप्रति तपाईंहरूले दर्शाइएको सद्भावनाको प्रतीक मानेका छौं। अमेरिकाका जनता र यहाँका महान् नेताहरूप्रति नेपालमा कदर र प्रशंसाको भावना छ। नेपालका जनता र सरकार एवं हाम्रो तर्फबाट यस संसद्द्वारा यो महान् देशका सबैलाई शुभकामना दिन र अभिवादन व्यक्त गर्न पाउँदा हामीलाई खुशी लागेको छ।

अनेक राष्ट्रहरूले बेला बेलामा प्रभुत्व जमाएको कुरो हामी विश्वको इतिहासमा पाउँदछौं। तर आफ्नो प्रगति र उन्नतिका राम्रो बेलामा अरू कम उन्नत देशहरूको दशा सपार्ने परोपकारी भावना यस महान् देशले जस्तो कुनै बेलामा अरू कसैबाट भएको हामी कमै देख्दछौं। ठाउँ ठाउँमा भैरहेको गरीबी र दुःख दर्दका अवस्थामा सुधार गर्ने जुन अभूतपूर्व कोशिश गर्ने अभिभारा यस देशले हालसाल आफूमाथि लिएको छ त्यो सराहनीय छ भन्ने हामीलाई लागेको छ।

व्यापार र दौत्य सम्बन्धको नाताको हिसाबबाट पनि बाह्र वर्ष अघि हाम्रो दुइ देशको सम्बन्ध केही विशेष थिएन। नेपाल देखेका अमेरिकनहरूको संख्या र त्यस्तै गरी अमेरिका देखेका नेपालीहरूको संख्या प्रायः नगण्य नै थियो। शायद त्यसबेला हाम्रो देशको राजनीतिक परिस्थिति र भौगोलिक अवस्थाले पनि दुइ देशको जनताहरूमा आवागमन गर्ने अभिलाषालाई कम गरायो होला भन्न सकिन्छ। नेपालमा भएको राजनीतिक परिवर्तन तथा प्रजातान्त्रिक व्यवस्थाको स्थापना पछिको परिस्थितिमा हेरफेर भयो। नेपालमा अमेरिकी कार्यक्रमको मिशन रहेदेखि यता तालीम र शिक्षाको लागि हाम्रा प्रजाहरू अमेरिका आउन थाले र त्यस्तै गरी नेपालमा आउने अमेरिकी टुरिष्टको पनि वृद्धि हुन थालेको छ। नेपालमा आउने यहाँका बासिन्दाहरूले सदैव राम्रो स्वागत पाएका छन् भन्नु अत्युक्ति हुनेछैन।

नेपालको शिक्षा, यातायात, आर्थिक व्यवस्था र कृषिको कार्यक्रममा सहायता र सुधार गर्ने काममा केही संख्यामा अमेरिकन विशेषज्ञहरू नेपालमा आएका छन्। हाम्रा जनताले अमेरिकीहरूलाई सदैव नेपालको कार्यक्रममा सहायक र उपयोगी मद्दतगारको रूपमा देखेको छन्।

माथि उल्लेख भएका कारणहरूबाट भन्दा पनि दुवै देशको प्रजातान्त्रिक आदर्श र व्यवस्थामा भएका आस्था दुवै देशका बीचमा बढी मात्रामा सहयोग र सद्भावनाको सम्बन्धको बाटो हो भन्ने हामीलाई लाग्दछ। प्रजातान्त्रिक सिद्धान्त र तरीकामा भर्खरै हिँड्न खोज्ने प्रजातान्त्रिक मुलुकहरूले सामना गर्नुपर्ने परिस्थितिको शायद तपाईंहरूलाई विदित भएकै होला। नेपालमा पोहर साल भएको पहिलो आम चुनावको फलस्वरूप बसेको संसद्लाई अमेरिकी संसद्ले पठाएको सन्देशलाई हाम्रो संसद्का सदस्यहरूले स्वागत गरेका छन्। हाम्रो संविधानमा पनि मौलिक अधिकार, ऐन कानूनको मर्यादा, जनताको इच्छा अभिलाषाको प्रतिरूप पूर्णतया प्रजातान्त्रिक प्रतिनिधित्व गर्ने संस्थाहरूको पर्याप्त मात्रामा समावेश भएको छ। धेरै कालदेखि यस देशका जनताले उपभोग गरिआएको ऐन कानून, स्वतन्त्रता र अधिकारको विचारधाराहरू हाम्रो संविधानमा गाभिएको छ।

हाम्रो दुइ देशको दौत्य सम्बन्ध उत्तिको पुरानो छैन, हाम्रो दुइ देश भौगोलिक दृष्टिबाट धेरै टाढा र फरक भए तापनि कालगतिलाई नाघ्न सक्ने विचार तथा आदर्शका सम्बन्ध र मनुष्य र समाजप्रतिको समान दृष्टिकोण आदिको नाताबाट हामी निकट छौं भन्ने हामीलाई लागेको छ।

हामी स्वतन्त्रताको पूजारी छौं, देशको गौरव र स्वतन्त्रता हामीलाई ज्यादै प्यारो छ, कुनैदेशको डरभर नमानी हरेक अन्तर्राष्ट्रिय विषयमा कसैसित नअलझी, कुनै शक्ति विशेषको पछि नलागी प्रत्येक कुरामा आफ्नै विचारधारा बमोजिम स्वतन्त्र तवरबाट निर्णय गर्ने हाम्रो नीति छ। संयुक्त राष्ट्रमा हाम्रो रेकर्ड यस नीतिको पुष्टि गर्दछ।

एक सानो मुलुकको हैसियतले यस किसिमको विचारधारा राख्नु शायद अलिक आदर्शवादी वा अव्यावहारिक हो भन्ने कसै कसैलाई लाग्ला तर अन्तर्राष्ट्रिय सुसम्बन्ध र शान्तिको लागि एवं राष्ट्र संघमा हुने विचार विमर्शमा हामी यही उपायद्वारा मात्र सहायक हुन सक्दछन् भन्ने हाम्रो भावना छ।

कसैको पछुवा नहुने हाम्रो नीतिको अर्थ अलग बसी जवाफदेही पन्छाउने होइन। जुनसुकै अवस्थामा पनि आफ्नो स्वतन्त्रता र आफ्नै विचारधारा सही रूपले कायम राख्ने हाम्रो मतलब हो। यसमा अकर्मण्यता, स्वार्थी वा पलायनवादिताको गन्ध छैन। सही बाटो यही हो भन्ने हामीलाई विश्वास भएमा हामी कुनै कदमबाट पनि पछि हट्ने छैनौं। असल र खराब, ठीक र बेठीकको साधारण समस्या आइलागेमा हामी कदापि पनि कतैतिर न लागी त्रिशंकु भइरहने छैनौं, यो कुरा पक्का छ।

दुर्भाग्यवश आज संसारमा अन्तर्राष्ट्रिय सम्बन्धमा आपसमा डर, शंका र बेचैनीको भावना छ। यो परिस्थितिलाई सकेसम्म सुधार गर्नु सबैको निमित्त भलाइको कुरा हुनेछ। यो तथ्यलाई सबैले बुझेको छ तापनि यस लक्ष्यतर्फ ठोस प्रगति कमै भएको अनुभव हुन्छ। परस्परको सम्बन्धमा सद्भावना राख्न हरेक देशका शान्तिप्रिय मानिसहरूले यस दिशातर्फ निरन्तर लागिरहनु पर्दछ भन्ने हामीलाई लाग्दछ। यसो नभएमा सभ्यता र संस्कृतिको पूर्णतया अन्त्य हुन बेर लाग्नेछैन। आगामी हप्ताहरूमा हुने उच्चस्तरीय सम्मेलनमा निरस्त्रीकरण एवं अणुशक्ति प्रयोगमा रोक लगाउने विषयमा कुनै रूपबाट मानवता मात्रको भलाइका लागि सफलता होस् भन्ने सबैको कामना छ। यस बैठक तथा त्यसपछि हुने अरू बैठकहरूमा यस दिशातर्फ पर्याप्त प्रगति हुनेछ भन्ने हामीले विश्वास लिएका छौं।

अमेरिकी जनता शान्तिप्रिय छन् भन्ने विषयमा हामीलाई कुनै किसिमको शंका छैन। आजको अवस्थामा शान्ति, न्याय तथा स्वतन्त्रताको आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा पनि क्रान्तिकारी परिवर्तनको आवश्यकता बारे अरू सान-साना स्वतन्त्र मुलुकहरूलाई समेत दिलजमी गर्न अमेरिकाले सक्छ भन्ने कुरा दर्शाउन पर्ने बेला आइलागेको छ। आणविक शक्तिबाट हुनसक्ने संहारको परिस्थिति र शंका, भय र रीसको वर्तमान अन्तर्राष्ट्रिय अवस्थाबाट विश्वलाई बचाई संसारको कुना कुनाबाट गरीबी र दुःखको हालतको निराकरण सबैको साझा प्रयत्न र साधनबाट हुन सक्दछ र विश्वमा युद्धको छायाँसम्म पनि पर्न नदिने ठूलो काम ठूलठूला राष्ट्रहरूको कर्त्तव्य र जिम्मेवारीको कुरो हो। संसारमा युद्ध तथा संहारकारी अरू प्रयत्नको लागि जति खर्च हुन्छ त्यसको केही अंश मात्र पनि कम उन्नत देश र त्यहाँका जनताको भलाइको निमित्त लगाएमा मानव मात्रको निमित्त यो भूतल स्वर्गको दरबार सिद्ध हुन सक्नेछ।

विश्वको इतिहासमा युद्धले सभ्यता र प्रगतिलाई कति हानि गरेको छ र कति प्राणीको मृत्यु भएको छ त्यो सबैले थाह पाएकै कुरा छ। हालै मात्र भएको दुइवटा विश्वयुद्धमा कति मानिस मरे, कति देश विध्वंश भए, कति युवक युवतीहरूको अकाल मृत्यु भयो, यसबाट कतिलाई कहिल्यै नबिर्सिने गरी दिलमा चोट लाग्यो हामी सहजै अनुमान गर्न सक्दछौं। अर्को विश्वयुद्ध शुरू भएमा, ठूला साना कुनै देश पनि बच्न गाह्रो छ।

यसैकारणले हाम्रो अधिराज्य नेपालका नब्बे लाख दिलमा रहेको विश्वमा शान्ति र स्वतन्त्रताको लागि आकांक्षा र अभिलाषालाई यस देशका एक महान् नेता अब्राहम लिंकनले यस देशको इतिहासमा एक महत्वपूर्ण अवसरमा व्यक्त गरेको निम्नलिखित महान् वाक्यको अर्थ लाउँदा राष्ट्र लेखेको ठाउँमा विश्व भनी पढेमा सो वाक्य आज पनि अर्थपूर्ण छ भन्दै यो सभामा हाम्रो संवोधन पूरा गर्न चाहन्छु:--

“जुन उच्च आदर्शको निमित्त यी महान् आत्माहरूले आफ्नो जीवनको बलिदान गरे, त्यो आदर्शलाई पूरा गर्न आज यहाँ जम्मा भएका हामी सबैले प्रण गरौं---आदर्शको निमित्त प्राणत्याग गर्ने बहादुरहरूले व्यर्थमा जीवन आहुती गरेका होइनन् राष्ट्रका स्वतन्त्रताको लागि मृत्युलाई अंगालेका हुन्--जनताको भलाइका निमित्त जनताले रोजेको व्यवस्था र शासन व्यवस्था यस पृथ्वीबाट लोप नहोस् भन्ने आदर्शलाई हामी कहिल्यै नभूलौं।”

धैर्यपूर्वक यो संवोधन सुनिदिनु भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्दछौं ।
)श्री ५ महेन्द्रका सम्बोधन संग्रहबाट )